नगर प्रमुखज्यूबाट नगर प्रहरीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै ।

मिति २०७८ असोज १ गते यस महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भयो । उक्त कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १ देखि १० का वडाअध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, वडा नं ९ का सदस्यहरू, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुखहरू , नगरपालिकाका शाखा प्रमुखसहित अन्य कर्मचारीहरू, तालिमका सहजकर्ता, शिक्षक प्रतिनिधि, सहित बुद्धीजिवी र समजसेवीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रहरीहरूबाट कवाज प्रदर्शनीका साथै VIP सुरक्षा र अग्नी नियन्त्रण सम्बन्धी ड्रिल प्रदर्शनी भयो । नगरप्रमुखज्यूले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । आजको दीक्षान्त समारोहमा नगरप्रमुखज्यूबाट नव नियुक्त नगर प्रहरीहरूलाई प्रमाण पत्र र तालिमका प्रशिक्षक र सहजकर्ताहरूलाई प्रशंसा पत्र वितरण गर्नुभयो । कार्यक्रममा नगरप्रमुखज्यूले दिक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै यस ३० दिने आधारभूत तालिमबाट नगरप्रहरीहरूमा कर्तब्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित सदैव नगरवासीहरूको सेवामा अहोरात्र खट्न सक्ने क्षमताको विकास भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले “स्वच्छ, सफा, समृद्ध, सुन्दर - महालक्ष्मी नगर” भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरशः कार्यान्वयन गर्न सहयोग गर्नु नगरप्रहरीहरूको मुख्य कार्य रहने बताउनु भयो । त्यसका साथ साथै उहाँले यस एक महिने तालिम सञ्चालनमा महत्वपूर्ण योगदान गर्नुहुने प्रशिक्षक, सहजकर्ताका साथै तालिमका लागि भौतिक पूर्वाधार उपलब्ध गराइ सहयोग गर्ने महालक्ष्मी न.पा-९ स्थित शुभतारा स्कुललाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा र वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेले दीक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई दिनुहुँदै शुभकामना मनतब्य राख्नुभयो । नगरपालिकाले हालै १ जना नगरप्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी कूल १४ जना करार सेवामा नियुक्त गरेको थियो ।